काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूका घोषणापत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी एजेन्डालाई प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ ।
मंगलबार महासंघले पत्रकार सम्मेलन मार्फत खानेपानी तथा सरसफाइ नागरिकको स्वास्थ्य, मानवीय मर्यादा र दिगो विकाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसलाई नीतिगत प्रतिबद्धता र कार्यान्वयन योग्य कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने उल्लेख गरेको हो ।
फेडवासन नेपालभर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूको साझा छाता संगठन हो। उपभोक्ता समितिहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा नीतिगत पैरवी गर्ने उद्देश्यले महासंघको स्थापना भएको विज्ञप्तिमा उल्लेख छ । सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न महासंघले संघीय, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदारहरूसँग सहकार्य गर्दै आएको फेडवासनले जनाएको छ ।