काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री तथा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा जेन–जी आन्दोलनलगत्तै अमेरिका गएको बताइए पनि अझै नेपाल नफर्किएको खुलेको छ। देउवा ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न नआएपछि उनी अमेरिका रहेको कुरा बाहिरिएको हो। तर देउवा कहिले गए, कहाँ छन् र कहिले फर्किन्छन् भन्ने विषयमा प्रदेशसभा, सरकार र पार्टी नेतृत्वलाई औपचारिक जानकारी नभएको बताइएको छ।
कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीका अनुसार देउवा पछिल्लो समय संसदीय दलको बैठकमा पनि उपस्थित भएका छैनन्। सभामुख भीम भण्डारीले पनि देउवा सदनमा अनुपस्थित भए पनि कारणबारे कुनै जानकारी नआएको बताएका छन्।
प्रदेशसभाको छैटौँ अधिवेशनमा हालसम्म भएका २५ बैठकमध्ये देउवा ८ बैठकमा मात्रै उपस्थित छन्। संविधान र प्रदेशसभा नियमावली अनुसार लगातार १० बैठकमा विनासूचना अनुपस्थित भए सांसद पद रिक्त हुन सक्ने व्यवस्था छ। कांग्रेस स्रोतका अनुसार देउवा केही समयअघि मुख्यमन्त्री बन्ने प्रयासमा सक्रिय थिए। तर अन्तिम अवस्थामा पार्टी नेतृत्वबाट साथ नपाएपछि उनी रुष्ट बनेको दाबी गरिएको छ। देउवाकी श्रीमती र सन्तान अमेरिकामै रहेका छन्।
कांग्रेस कैलाली सचिव नृप सुनारले देउवा प्रतिनिधिसभा निर्वाचनअघि फागुनको पहिलो साता नेपाल फर्किने तयारीमा रहेको दाबी गरेका छन्।