पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ का स्थानीय जेन्जी युवाले नेकपा (एमाले) कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्य लाई नमुना मतदान गर्दै वडा निर्वाचन कार्यालय शुभारम्भ गरेका छन्।
युवाहरूले नयाँ पुस्ताको भावना र अपेक्षाअनुसार आफूहरूले रोजेको उम्मेदवार पाएको भन्दै मतदानमार्फत अभियान सुरु गरिएको घोषणा गरेका हुन्। कार्यक्रममा सहभागी युवाले विगतका कामको मूल्याङ्कन गर्दै अधुरा योजना पूरा गर्न र अव्यवस्थित नीतिलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिन सुझाव दिएका थिए।
उम्मेदवार आचार्यले पोखराको सहरी र ग्रामीण क्षेत्रबीचको सम्बन्ध मजबुत बनाउँदै पर्यटन विकासलाई तीव्रता दिने उद्देश्यले ‘लिङ्क पोखरा’ अवधारणा अघि सारेको बताए। उनका अनुसार उक्त योजना संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमा पर्यटकको बसाइ अवधि बढाउने र आवागमनलाई सघन बनाउने दीर्घकालीन खाका हुनेछ। उनले पोखरालाई धेरैभन्दा धेरै पर्यटक भित्र्याउने सहरका रूपमा स्थापित गर्न आफू केन्द्रित रहने उल्लेख गरे।
आचार्यले मर्यादित तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै युवालक्षित रोजगारी सिर्जना गर्ने नीति निर्माणमा जोड दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै सीता गिरी ओली ले आन्दोलन, शिक्षा, बौद्धिकता र इमान्दारिताका आधारमा आचार्य योग्य उम्मेदवार भएको बताइन्। युवाहरूको विकास चाहना कार्यान्वयन गर्न सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
एमाले पोखरा–७ का अध्यक्ष अनिल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दीपकजंग कार्कीले गरेका थिए भने सञ्चालन सचिव अर्जुन थापाले गरेका थिए। कार्यक्रममा सहभागी युवाले आचार्यलाई विजयी गराउन प्रतिबद्ध भएर लाग्ने बताएका छन्।