काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १९ गते सोडारी विरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सोडारीले पदीय मर्दायाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७४ सालमा मुख्यमन्त्री हुँदा सोडारीले आफ्नो र परिवारको कूल सम्पत्ति ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँ ९२ पैसा वैधानिक आर्जन देखाएका थिए ।
तर, पदबहालीपछि शक्तिको दुरुपयोग गरी १ करोड ८ लाख ३८ हजार तीन सय ५७ रुपैयाँ ५७ पैसा अकूत आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ । सोडारीले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, शेयर लगानी, चुनाव खर्च लगायतका शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेका थिए ।