काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार साँझ रुपन्देही पुगेका छन् । उनी मणिग्रामस्थित एक तारे होटलमा बसेका छन्। आज उनी रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा पुगेर जनसम्पर्क गर्ने कार्यक्रम रहेको छ।
रास्वपाका अनुसार लामिछानेको जनसम्पर्क यात्रा बिहान ८ बजे रुपन्देही–१ अन्तर्गत देवदहको खैरेनीबाट सुरु भएको छ। दिनभर उनी पाँचवटै निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने छन्। कार्यक्रमको अन्त्य साँझ बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर दर्शनसँगै हुनेछ। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार बिहान ११ बजे क्षेत्र नम्बर ३ को भैरहवा, दिउँसो १ बजे क्षेत्र नम्बर ४ को कोटहीमाई–मर्चवार, २ बजे क्षेत्र नम्बर ५ को पर्सहवा र सवा ३ बजे क्षेत्र नम्बर २ को मोतिपुरमा कार्यक्रम तय गरिएको छ। त्यसपछि बुटवल, नयाँगाउँ र सालझण्डी हुँदै सवा ६ बजे लुम्बिनी पुग्ने कार्यतालिका छ।
यद्यपि, सबै स्थानमा औपचारिक सम्बोधन नहुने र केही ठाउँमा मात्रै छोटो सम्बोधन हुन सक्ने शर्माले जानकारी दिए। रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये रास्वपाबाट क्षेत्र नम्बर १ मा महामन्त्री सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा। लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिफ अहमद खान उम्मेदवार छन्। रुपन्देहीका कार्यक्रम सकेपछि रवि लामिछाने सोमबार राति कपिलवस्तु जाने कार्यक्रम रहेको छ।