काठमाडौँ। नेपाली कांग्रेसले आमनिर्वाचनका लागि निर्देशिका ल्याएको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ पारित गरेको हो। यो निर्देशिका केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक उपसभापति विश्वप्रकाश शर्मा छन्। निर्देशिकामा उल्लेख भएअनुसार कांग्रेसले अरू पार्टीका उम्मेदवारलाई गाली नगर्ने नीति लिएको देखिन्छ।
‘नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ,’ निर्देशिकामा भनिएको छ। साथै निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो´भनेर पनि निर्देशिकामा लेखिएको कांग्रेसले जनाएको छ।
‘चुनाव मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन्,’ निर्देशिकामा भनिएको छ, ‘चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकुन् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नुछ।’
कांग्रेसले निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तव्य मुलतः दलहरूकै भएको भन्दै यसमा अन्य सबै दललाई घच्घच्याउने भूमिकासमेत निर्वाह गर्ने उल्लेख गरेको छ। घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन् सामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णत संयमित र परिपक्व रहनेछ,’ निर्देशिकामा भनिएको छ।