काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका प्रमुख संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ भइरहेको छ। आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रेशमको रिटमाथि सुनुवाइ जारी छ ।
यसअघि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट हालेका थिए ।
सर्वोच्चमा रिटमाथि सुनुवाइ भइरहँदा चौधरीले चुनावी घरदैलो जारी राखेका छन् ।चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका थिए । तर, निर्वाचन आयोगले चौधरीविरुद्ध टीकापुर हत्यकाण्डलाई जोडेर परेको उजुरीका आधारमा उम्मेदवारी खारेज गरिदिएको थियो ।