काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको गौरवपूर्ण सभ्यता र संस्कृतिमाथि हमला भइरहेको बताएका छन् । चुनाव प्रचारप्रसारका लागि झापामा रहेका उनले पुराण आयोजनास्थलमा पुगेर संस्कृतिमाथि प्रहार भइरहेको बताएका हुन् । यद्यपि, उनले कसले प्रहार गरे भन्नेबारे खुलाएनन् ।
नेपाल सभ्यताको सुरुवातकर्ता, ज्ञान र ध्यानको सुरुवातकर्ता देश रहेको भन्दै यो पुण्यभूमि रहेको बताए । उनले ध्यानभूमि र ज्ञानभूमि मानिने नेपालमा देवताहरूको बास भएको बताएका छन् ।
‘आज देशको गौरवपूर्ण सभ्यता र संस्कृतिमाथि हमला भइरहेको छ । यो अलिक कमजोर भएको हुनसक्छ । हाम्रो परम्परालाई, सभ्यतालाई कमजोर हुन दिनु हुँदैन,’ ओलीले भने, ‘हाम्रा चाडपर्व, आस्था र वेद होस् कि वेदान्त, उपनिशद, कुरान वा अन्य, तिनको सेरोफेरोमा घुम्ने शास्त्रको जगेर्ना गर्नुपर्छ । यी शास्त्रहरू लामो समयको अनुभव र ज्ञानबाट सिर्जना भएका हुन् ।’
उनले त्यही ज्ञानलाई पुराणलगायतका कार्यक्रममा गुरुहरूले सुनाउने गरेको उल्लेख गरे ।