काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनपछि देशमा अशान्ति र हिंसात्मक गतिविधि दोहोरिन नहुने बताएका छन् ।
गोकर्णश्वरमा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै थापाले चुनावपछि सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था आउन नदिन राजनीतिक दलहरू जिम्मेवारी हुनुपर्ने बताएका हुन्।
उनले भने, 'जे जति खराब कामहरू भए, कसैलाई दोष दिन्न म। म पनि त्यहीँ भित्र थिएँ। तर चुनावपछि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन । चुनावपछि फेरि बनाइएको सिंहदरबार जल्नु हुँदैन । नयाँ बनेको संसद् भवन पनि सुरक्षित रहनुपर्छ । सरकारको गोलीबाट कुनै पनि युवा मारिनु हुँदैन ।'
उनले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै शान्ति, सहमति र सहकार्यका माध्यमबाट राजनीतिक स्थिरता कायम गर्न कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे ।