काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गतको झापा जिल्ला देशकै केन्द्रविन्दुमा परेको छ। दुई जना प्रधानमन्त्रीका उम्मेदवार एउटै जिल्लाबाट निर्वाचनमा होमिएका कारण झापा राष्ट्रिय चासोको विषय बनेको हो।
झापामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह बीचको प्रतिस्पर्धा चर्चामा छ। यद्यपि उनीहरू दुवैको चुनावी क्षेत्र झापा क्षेत्र नम्बर ५ हो। झापा–५ मा तीव्र प्रतिस्पर्धा भइरहँदा जिल्लाकै क्षेत्र नम्बर २ पनि चुनावी ‘हटस्पट’ को रूपमा उभिएको छ। झापा–२ मा निवर्तमान सभामुख र उपसभामुख, पूर्वमन्त्री, कानुनविद्, सामाजिक अभियन्ता तथा वैकल्पिक धारका नेताहरू एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि प्रतिस्पर्धा थप रोचक बनेको छ। यस क्षेत्रमा १५ राजनीतिक दल र तीन स्वतन्त्र गरी १८ जना उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारको संख्या मात्र होइन, उनीहरूको राजनीतिक हैसियत, व्यक्तित्व र विगतको प्रभावले झापा–२ लाई बहुआयामिक प्रतिस्पर्धाको केन्द्र बनाएको स्थानीय पत्रकार सुरेन्द्र भण्डारी बताउँछन्।
देवराज घिमिरे संगठन र सत्ताको बल नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरे यस निर्वाचनका प्रमुख प्रतिस्पर्धी मानिन्छन्। २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी भएका घिमिरे प्रतिनिधिसभाको सभामुख बनेपछि राष्ट्रिय राजनीतिमा स्थापित भएका हुन्। एमाले अध्यक्ष ओलीको गृह जिल्ला र बलियो संगठनात्मक आधार रहेको क्षेत्रमा घिमिरेको उम्मेदवारीलाई एमालेको संस्थागत शक्ति र निरन्तरताको प्रतीकका रूपमा हेरिएको छ। घिमिरेले आफ्नो कार्यकालमा सडक विस्तार, हात्ती प्रभावित क्षेत्रमा फेन्सिङ तथा चार लेन सडकजस्ता पूर्वाधार योजनालाई अघि बढाएको दाबी गर्दै पुनः जनमत मागिरहेका छन्।
इन्दिरा राना मगर विकल्पको प्रत्यक्ष परीक्षा : रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर यस निर्वाचनकी अर्की केन्द्रीय पात्र हुन्। समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गरी उपसभामुख बनेकी रानाका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ। घिमिरे र राना एउटै कार्यकालका सभामुख र उपसभामुख हुन्। सामाजिक अभियानबाट राजनीतिमा आएकी रानाले आफूलाई परम्परागत दलभन्दा फरक, समावेशी र सामाजिक न्यायको पक्षधर नेताका रूपमा प्रस्तुत गरिरहेकी छन्। सहरी मतदाता, महिला र परिवर्तन चाहने युवामाझ उनको समर्थन बढ्दो देखिन्छ। तर बलियो संगठनात्मक संरचना नहुनु र प्रत्यक्ष चुनावमा रास्वपाको पहिलो ठूलो परीक्षा हुनु उनको चुनौती हो।
भद्रप्रसाद नेपाल ‘निकट हार’ बाट पुनरागमनको प्रयासः अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर २६ हजार ४५५ मत ल्याउँदै दोस्रो स्थानमा रहेका भद्रप्रसाद नेपाल यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका छन्। २०७९ मा विजयी उम्मेदवार घिमिरेसँग उनको मत अन्तर मात्र २ हजार २६१ थियो। त्यस परिणामले झापा–२ मा वैकल्पिक राजनीतिक धार बलियो रहेको संकेत दिएको थियो। यसपटक पार्टीको संगठन र स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएका नेपालले अघिल्लो ‘निकट हार’ लाई जितमा बदल्न सक्ने हुन् कि भन्ने चासो बढेको छ। यद्यपि रास्वपाको उदयसँगै वैकल्पिक मत विभाजन हुने जोखिम पनि कायमै छ।
कांग्रेसको अस्तित्व जोगाउने प्रयासः नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईं र माओवादी धारकी उम्मेदवार तथा पूर्वमन्त्री धर्मशीला चापागाईं पनि प्रतिस्पर्धामा छन्। तुलनात्मक रूपमा कमजोर क्षेत्र मानिने झापा–२ मा प्रसाईं अनुभवी नेतृका रूपमा चिनिन्छिन्। अघिल्लो निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले यो क्षेत्र माओवादीलाई छाडेको थियो, जहाँ उम्मेदवार बनेका हरिकुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए। गठबन्धन भंग भएपछि कांग्रेस र माओवादी धारका मत विभाजन हुने अवस्था देखिन्छ।
विखण्डित मत र निर्णायक युवाः बिर्तामोड, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिकाका दुई वडा र बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा–२ मा कुल १ लाख ४७ हजार ५२२ मतदाता छन्। यहाँका युवा मतदाता विकास, रोजगारी र वैकल्पिक राजनीतिक नेतृत्वप्रति आकर्षित देखिन्छन्। यही समूहले निर्वाचन परिणामलाई निर्णायक मोड दिन सक्ने आँकलन गरिएको छ। बहुदलीय प्रतिस्पर्धाका कारण मत विखण्डन हुने सम्भावना बलियो छ, जसले अप्रत्याशित नतिजाको सम्भावना खुला राखेको छ। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको थियो। एमालेले २६ हजार ४९० मत, रास्वपाले २२ हजार ५१७, कांग्रेसले १५ हजार ४९८ मत प्राप्त गरेका थिए। यस क्षेत्रमा राप्रपाको ७ हजार ८८० मत रहँदा तत्कालीन माओवादी र एकीकृत समाजवादीको संयुक्त मत ५ हजार २८ थियो।