धनगढी । डडेल्धुराबाट प्रतिनिधि सभा पदका उम्मेदवार बनेका डा. तारा प्रसाद जोशीले आफूलाई अवसरवादी भन्नेहरुलाई जवाफ फर्काएका छन् । रास्वपाबाट चुनावी मैदानमा रहेका जोशीले चुनावी प्रचार प्रसारकै क्रममा परशुरामबाट जवाफ फर्काएका हुन् । डा.जोशीले प्रदेश सभामा हुँदा मन्त्रीका अफरहरू नै छोडेको बताए ।
‘सबभन्दा पहिले मन्त्रीको अफर पाएपछि कसले मन्त्री छोड्छ,’ डा. जोशीले भने,‘तर मैले छोडेको छु । मैले एउटा मात्रै अफर होइन धेरै पटक मन्त्रीको अफर आएको थियो । तर म मन्त्री बनिन् ।’
बाहिर जसरी अवसरवादी भनेर गलत हल्ला फिँजाइएका छन् त्यस प्रति आफुलाई कुनै असर नपर्ने दाबी गर्दै आफु मन्त्री बनेको भए अहिलेको सङ्गठन बनाउन नसकिने बताए ।
‘मैले ठुला अवसरहरू जनता, समाजका लागि भनेर राजनीतिलाई सही ठाउँमा ल्याउनुपर्छ भनेर मैले मेरा ठुला अवसरहरू छोडेको छु,’ डा.जोशीले थपे, ‘म त्यति बेला मन्त्री भएको भए अहिलेको यो समाजलाई आफुले सङ्गठित गर्न सक्दैनथे । अझ भन्नुपर्दा नयाँलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर मेरो प्रयास सफल हुने थिएन ।’
यस्तै उनले आफूले छोडेका मन्त्रीका नियुक्तिहरू हेर्न समेत आग्रह गरे । तत्कालीन प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले डा. जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए । तर डा. जोशीले मन्त्री पद अस्वीकार गरेका थिए । यस्तै कमल बहादुर शाहको सरकारले पनि डा. जोशीलाई सरकारमा आउन अफर गरेको थियो ।