काठमाडौँ । कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टी अब पूर्णतया बदलिएको उल्लेख गर्दै मतदाताहरूलाई सम्बोधन गरेका छन्। उनले अब ‘कांग्रेस २.०’ उल्लेख गर्दै पार्टीको पुनर्जागरण र भावी कार्यदिशाबारे पनि बताए।
निर्वाचन जित्न र सरकार बनाउन जे पनि गर्ने कांग्रेसको तरिकाप्रति जनताको गुनासो रहेको उल्लेख गर्दै थापाले ‘जनताको सोही चाहना र सडकको आवाजलाई सुनेर कांग्रेस बदल्ने जोखिम उठाएको बताए।
‘कांग्रेस २.०’ भनेको केवल अनुहार फेरिनु मात्र नभई सोच, संकल्प र शैली फेरिनु भएको उल्लेख गर्दै थापाले लोकतन्त्र, सामाजिक न्याय र समावेशीताजस्ता पार्टीका मूल आदर्शलाई कायम राख्दै नयाँ शैलीमा अघि बढ्नु नै नयाँ कांग्रेसको सार भएको बताए।
‘यसले हिजोका राम्रा कामको गौरव गर्छ तर विगतका गल्तीहरूलाई नलजाईकन स्वीकारेर सच्याउँछ,’ उनले भने। बदलिएको कांग्रेसले अब सत्तामा पुग्न वा सरकार टिकाउनका लागि कुनै पनि अस्वाभाविक सम्झौता नगर्ने थापाले प्रतिबद्धता जनाए।
त्यस्तै उनले कांग्रेसले भ्रष्टाचार र कुशासनमा ‘सेलेक्टिभ’ नहुने पनि बताए।