काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारकाआकांक्षी प्रणय राणाले पार्टीले “प्राइमरी चुनाव” को नाममा उठाएको २५ हजार रुपैयाँ सबै आकांक्षीलाई फिर्ता गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै “२५ हजार फिर्ता नगरे, त्यो ठगी हुने” टिप्पणी गरेका छन्। रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार बन्ने आकांक्षीबाट २५ हजार र समानुपातिकतर्फ आकांक्षीबाट ५० हजार शुल्क तोकेको थियाे । तर, पार्टी विधानमा व्यवस्था भए पनि प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्दा प्राइमरी चुनाव नै नगरिएको र समानुपातिकतर्फ पनि मत धेरै ल्याएका उम्मेदवारहरू पछाडि पारिएको आरोप राणाले लगाएका छन्।
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले प्रत्यक्षतर्फ ७५० जना आकांक्षी रहेको बताएका थिए। यदि ती सबैबाट २५ हजारका दरले रकम उठाइएको हो भने कुल रकम १ करोड ८७ लाख ५० हजार रुपैयाँ हुन आउँछ।
राणाले पार्टीभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै प्राइमरीको नतिजा सार्वजनिक नगरिएको, भोटिङको विश्वसनीयतामा प्रश्न, र नेतृत्वले प्राइमरीलाई “मिडियाबाजीको अस्त्र” बनाएको आरोपसमेत लगाएका छन्।
प्रणय राणले बुधबार आफ्नो फेसबुकमा सार्वजनिक गरेको भिडियो ।