काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक बन्दसूचीमा रहेका गायक प्रकाश सपुतले पूर्वमन्त्री महावीर पुन कुर्सीको मोहले नभई देशका लागि आवश्यक कानुन बनाउन चुनावमा होमिएको दाबी गरेका छन् । पुनलाई चुनाव जितको शुभकामना दिन म्याग्दीको बेनी पुगेका सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले पदबाट राजीनाम दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । सपुतले सुरुमा महावीर पुन जस्तो सादगी मान्छे पनि मन्त्री भएपछि कुर्सीको रस पस्यो भनेर धेरैले खिसिट्युरी गरेको देख्दा आफूलाई पनि चित्त दुखेको बताए ।
तर, प्रधानमन्त्री सुशीला कार्कीको भनाइ सुनेपछि आफ्नो भ्रम हटेको उनले उल्लेख गरेका छन् । पुनको ‘मन लाग्छ भने दिनुस्, नत्र जसलाई मन लाग्छ त्यसलाई दिनुस्’ भन्ने स्पष्ट र निडर स्वभाव आफूलाई मन परेको सपुतले बताए ।