काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच जापानको टोकियोस्थित इम्पेरियल प्यालेसमा शिष्टाचार भेटवार्ता भएको छ। चारदिने जापान भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उक्त भेट गरेका हुन। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन सोमबार जापान प्रस्थान गरेका थिए । सोही भ्रमणका क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले विश्वसनीय र महत्वपूर्ण विकास साझेदारको रूपमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका हुन। राष्ट्रपति पौडेलले मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा सांस्कृतिक जगेर्नालगायतका क्षेत्रमा जापानले दिएको सहयोगबाट नेपाल र नेपाली जनता अत्यन्त लाभान्वित भएको बताएका हुन ।
उनले नेपाल–जापानबीच इतिहास, संस्कृति र आपसी सहयोगमा आधारित दीर्घकालीन सम्बन्ध रहेको र कूटनीतिक सम्बन्ध स्थापनापछि मित्रता अझ सुदृढ र गहिरो बन्दै गएको उल्लेख गरेका हुन। सो अवसरमा राष्ट्रपति पौडेलले सम्राट नारुहितो तथा जापान सरकारप्रति आभार व्यक्त गर्नुका साथै नेपाल भ्रमणका लागि निमन्त्रणा समेत गरेका हुन । चारदिने जापान भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।