काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुग्न हतार गरिरहेको टिप्पणी गरेका छन्। उनले नयाँ भनिएका दलहरूले लोकप्रियतावादको नारा लगाएर जनतालाई भ्रममा पार्दै सत्ता प्राप्तिलाई प्राथमिकता दिएको आरोप लगाए।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै चन्दले विचार र सिद्धान्तलाई गौण बनाउँदै व्यक्ति केन्द्रित राजनीतिलाई अघि बढाउने प्रवृत्ति बढ्दै गएको बताए। उनले नयाँ दलहरूले “विचार होइन, नेता भए पुग्छ” भन्ने सोचलाई आत्मसात् गरेको दाबी गरे।
‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ भन्ने प्रवृत्ति अहिले नयाँ भनिने दलहरूमा देखिएको छ,’ उनले भने, ‘सिद्धान्त र विचारको कुरा गर्नु हुँदैन भन्ने सोच नै लोकप्रियतावादको परिणाम हो। मानिस देखाएर भ्रम सिर्जना गर्ने र हतारहतार सत्तामा पुग्ने प्रवृत्ति उपभोगवादी र पुँजीवादी शैली हो।’
महासचिव चन्दले यस्ता अभ्यासलाई पुँजीवादी राजनीतिक संस्कारको रूपमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोलन यस दिशामा जान नहुने बताए।
उनले कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर फैलाइएको प्रचारप्रति पनि आपत्ति जनाए। आफ्नो पार्टी एकताको पक्षमा रहे पनि सिद्धान्त, कार्यदिशा र उद्देश्य नमिलेसम्म एकता सम्भव नहुने उनको भनाइ थियो।
महासचिव चन्दले कम्युनिस्ट आन्दोलन नाराभन्दा व्यवहारमा आधारित हुनुपर्ने उल्लेख गर्दै लोकप्रियतावादी राजनीतिले दीर्घकालीन रूपमा देश र समाजलाई क्षति पुर्याउने चेतावनी दिए।