काठमाडाैँ । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबार स्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ । निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिएका छन् ।
आइतबार प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी दिएका छन् । उनका अनुसार प्रतिनिधिसभा गठन भइसकेपछि राष्ट्रियसभाको बैठक समेत सोही निर्माणाधिन संसद भवनबाटै सञ्चालन हुनेछ । प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्ने गरी सरकारसँग निरन्तर छलफल भइरहेको बताएका छन् ।