काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु मानवबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । मतदातासँगको अन्तरक्रियामा स्थानीयले बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले वन्यजन्तु(मानव द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका हुन् ।
बाँके र बर्दियाका मध्यवर्ती क्षेत्रसहित आसपासका नागरिकले असुरक्षित महसुस गरेकाले कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार राठौरसँग विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गरिएको ठाकुरबाबा नगरपालिका ३ का कमानसिंह साउदले बताए ।
अन्तरक्रियामा नेता राठौरले पछिल्लो समय मानव र जनावरबीचको द्वन्द्व व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि आफूले सरोकार भएका निकायसँग छलफल र समन्वय गरी समाधानको पहल गर्ने प्रतिबद्धता जनाएको उनले निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार नेता राठौरले स्थानीय जनतासँग भेटघाट, अन्तरक्रिया गर्नुका साथै सुझाव पनि सङ्कलन गरिरहेका छन् । स्थानीय कौशिला टमटाले यसअघि बर्दियाको विकासका पहल गरेका नेता राठौरले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषकका समस्या, सडक, पुलपुलेसालगायत विषयमा रहेका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।
हालसम्म मानव(वन्यजन्तु द्वन्द्व व्यवस्थापन, कृषकका समस्या, सडक स्तरोन्नतिलगायत समयसामयिक विषयमा सुझाव सङ्कलन भएको ठाकुराबाबा नगरपालिकाका प्रमुख एवं कांग्रेस नेता तिलक लम्सालले बताए । कांग्रेस नेता राठौर २०७९ को प्रतिनिसभा सदस्य निर्वाचनमा बाँकें क्षेत्र३ बाट २९ हजार ४० मतसहित विजयी भएका थिए । रासस