काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीयता विरोधीलाई मधेशबाट हराउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपालाई लक्षित गर्दै कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिको कुनै अर्थ नहुने स्पष्ट पारेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले मधेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा संघीयतालाई बलियो बनाउँदै अघि बढ्ने बताएका थिए ।
उनले लेखेका छन्,‘पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने हो ।’
उनले संघीयताविरोधी शक्तिलाई मधेशबाट पराजित गर्नु नै मधेशी शहीदप्रतिको सम्मान हुने उल्लेख गरेका छन् ।
उनले थपेका छन्, ‘सङ्घीयत खारेज गर्नु रास्वपाको निरन्तरको एजेन्डा रहँदै आएको छ, पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो, यसर्थ मधेश यी संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ, त्यो नै मधेशी शहीदको सम्मान हुनेछ ।’