काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जोखिम नरहेको दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा झापा –५ मा सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सुरक्षित अवस्थामा रहेको पार्टीको विश्लेषण रहेको जानकारी दिएका हुन् ।
‘मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं । त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’ उनले भने, ‘भूराजनीतिक द्धन्द्धमा नेपाललाई फसाउने, कठपुतली सरकार बनाउने र फेरि पनि कठपुतली सरकार नै बनाउने योजना भएको छ । चुनावबाट जेलेन्सी जन्मउने योजना अगाडि सारिएको छ । एमाले यस्तो योजनालाई असफल बनाउने र चिर्ने काममा लागेको छ ।’
झापा–५ मा एमालेका अध्यक्ष ओलीलाई योपटक काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर एवं रास्वपाको वरिष्ठ नेता बालेन शाहले टक्कर दिएका छन् ।