काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहिद दिवसको अवसरमा शुभकामना दिदै सहिदका सपना अझै पूरा नभएको बताएका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो धारणा राखेका हुन्।
प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको बताए। उनले सन्देशमा सामन्ती राणा शासनविरुद्ध लड्ने लखन थापा, बाँकाबीर र चार सहिद (शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल)देखि पञ्चायती काल, जनयुद्ध, जनआन्दोलन तथा मधेस र थारू आन्दोलनको स्मरण गरे।
विशेष गरी उनले पछिल्लो समयको जेनजी आन्दोलनका सहिदहरूको बलिदानलाई समेत समेट्दै यी सबै संघर्षको साझा उद्देश्य सामन्तवाद र विभेद अन्त्य गरी लोकतन्त्र र सुशासन स्थापना गर्नु रहेको उल्लेख गरे। मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षजस्ता उपलब्धि सहिदकै बलिदानको परिणाम भएको उनले बताए ।