काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए । उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गरे । महिला उम्मेद्वारको संख्यापनि केहि धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ छ ।
उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर सवैलाई न्यायोचित तवरले टिकट वितरण गरेको दावी गरे । उनले बिभिन्न मापदण्डका आधारमा पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको बताए । भावी प्रधानमन्त्रीको उम्मेदवारबीच बहस भए आफ्ना उम्मेद्वारलाई जुनसुकै स्थानमा पठाउन कांग्रेस तयार रहेको उनको भनाइ छ । उनले पार्टीले बनाएको आचारसंहीतालाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । शर्माले देश बनाउने भिजनसहितको पार्टीको घोषणपत्र छिटै सार्वजनिक गरिने जानकारी दिए ।