काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले यो लोकतन्त्रको जित भएको बताएकी छिन् । झाँक्रीले निर्वाचन आयोगबाट प्राप्त जितको प्रमाणपत्र सामाजिक सञ्जालमा राखेर निर्वाचित गराउने सबैलाई धन्यवाद समेत दिएकी छन् ।
‘मलाई विश्वास गरेर साथ दिनुहुने मेरो दल नेकपा एमाले, गठबन्धन दलः नेपाली कांग्रेस, जसपालगायत अन्य शुभेच्छुक राजनीतिक दलहरू, निरन्तर मार्गदर्शन गर्ने नेता पार्टी अध्यक्ष केपी शर्मा ओली र अन्य नेतृत्व गणप्रति हृदयदेखि नै आभार र सम्मान व्यक्त गर्दछु’, झाँक्रीले लेखेकी छन् ।
साथै, उनले यो जित आफ्नो व्यक्तिगत सफलता मात्रै नभएको पनि बताएकी छन् । उनले भनेकी छन्, ‘यो विजय केवल मेरो व्यक्तिगत सफलता होइन, यो त लोकतन्त्र, विश्वास र सामूहिक प्रतिबद्धताको जित हो। तपाईंहरूले दिनु भएको अमूल्य विश्वास र समर्थनलाई म राष्ट्र, जनता र संविधानप्रतिको सम्मान र सेवामा रूपान्तरण गर्नेछु । जनता, राष्ट्र र संविधानमाथि कहिल्यै सम्झौता गर्ने छैन ।’
राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य मान्यता र जनताको आवाजलाई उच्च प्राथमिकतामा राख्दै इमान, निष्ठा र जिम्मेवारीका साथ मेरो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।