काठमाडौं । नेकपा (एमाले)का महासचिव तथा दाङ–२ का उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्।
दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा पूरा गरेको स्मरण गर्दै पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका निर्वाह गरेको दाबी गरेका छन्।
उनले पानीमुनिको पुल भएको जिल्लाको पहिचान बदल्ने कामदेखि प्रमुख अस्पतालहरूलाई रिफर सेन्टरबाट विशेषज्ञ सेवा दिने स्तरसम्म पुर्याउन सहजीकरण गरेको पनि दाबी गरेका छन् ।
साथै, उच्च प्राविधिक शिक्षाको आधारशीला तयार गर्न र राजनीतिमा इमान्दार तथा स्वच्छ छविका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उनको भनाइ छ।
यस्ता छन् प्रमुख प्रतिवद्धताहरू
✅ लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने ।
✅ ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने ।
✅ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने ।
✅ मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने ।
✅ त्रिवि अन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने ।
✅ गुहारखोला हाइड्याम र नहर प्रणाली विकास गर्ने ।
✅ ७२ सिटे जहाज उडान/अवतरण गर्ने गरी तुल्सीपुर विमानस्थलको विस्तार गर्ने ।
✅ प्रमुख बस्तीका ग्रामीण सडक कालोपत्रे गर्ने ।
✅ शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण गर्ने ।
✅ सामुदायिक विद्यालयको गुणस्तर सुधार र विद्यार्थी संख्या वृद्धि गर्ने ।
✅ स्वास्थ्य बीमाको दायरा विस्तार र सेवाको सुनिश्चितता गर्ने ।
✅ कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको जीवनस्तर उठाउने ।
✅ उद्यमी वन्न चाहने युवाका लागि विनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने ।
✅ नयाँ लगानीकर्तालाई निश्चित अवधिसम्म आयकर छुटको व्यवस्था गर्ने ।
✅ सम्भाव्य खोला–सोतामा कृत्रिम जलाशय निर्माण गरी सिचाइ सुविधा विस्तार गर्ने।
✅ घोराहीदेखि वंगलाचुलीको खानी क्षेत्रजाने सडकलाई ढलान सड़क बनाउने।
✅ प्रदेश राजधानिको गुरु योजना कार्यान्वयन गर्ने।
✅ केन्द्रीय घोषणापत्रका प्रतिवद्धता पुरा गर्न नेतृत्वकारी भूमिका खेल्ने ।