काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्ट एकताको बहसलाई व्यवहारसँग जोडेर मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
सबै कम्युनिष्ट शक्तिसँग मोर्चा र सहकार्यका लागि आफू तयार रहेको उल्लेख गर्दै उनले सिद्धान्त, कार्यदिशा र उद्देश्य नमिलेसम्म एकता सम्भव नहुने स्पष्ट पारे। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका लागि गरेको आग्रहप्रति संकेत गर्दै विप्लवले चुनावी मोर्चामा समेत सहकार्य गर्न नसक्ने दलहरूले एकताको कुरा गर्नु कम्युनिष्ट आन्दोलनकै अपमान भएको टिप्पणी गरे।
उनले यस्ता अभिव्यक्तिलाई पुरानै र असफल भइसकेको राजनीतिक अभ्यासको निरन्तरता मात्र भएको बताए। विप्लवका अनुसार चुनावजस्तो ठोस अभ्यासमा सहकार्य गर्न नचाहने शक्तिहरूले एकताको नाममा भ्रम फैलाइरहेका छन्।
आफ्नो पार्टी समाजवादी गन्तव्यतर्फ अग्रसर रहेको र विभिन्न मोर्चाका अनुभव बोकेको उल्लेख गर्दै उनले वर्तमान अवस्थामा एकता र अग्रगमनको वास्तविक केन्द्र आफ्नो पार्टी भएको दाबी गरे। कम्युनिष्ट आन्दोलन नाराभन्दा व्यवहारबाट अघि बढ्नुपर्नेमा उनको जोड थियो।