काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । लामिछानेको देब्रे खुट्टामा समस्या देखिएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको लामिछानेको सचिवालयले जनाएको छ ।
केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो । सचिवालयका अनुसार लामिछानेको देब्रे खुट्टामा लागेको सामान्य चोटको संक्रमण छालाको भित्री तहमा फैलिएको छ ।
चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको जनाएपछि लामिछानेलाई भर्ना गरिएको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।
अविनाशका अनुसार केहि दिनको उपचार पछि मात्रै लामिछाने सक्रिय हुने छन् । सचिवालयले अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर पर्न सक्ने तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिन समेत आग्रह गरेको छ ।
लामिछाने केहि दिन देखि सक्रिय नदेखिएपछि सामाजिक सञ्जालमा उनको खोजी भएको थियो ।