काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकता प्रक्रियाले आफ्नो पार्टीलाई क्षति पुगेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले पार्टी गठनको केही समयमै अस्थिर अवस्था सिर्जना भएको उल्लेख गरे। रास्वपाको नाम नलिँदै उनले पार्टी स्थापना भएको तीन महिनाभित्रै १२ दिनजति निष्क्रिय अवस्थामा पुगेको टिप्पणी गरे।
उनले भने, “पार्टी बनेको तीन महिना पनि पूरा भएको छैन। बीचमा १२ दिनजति कोमामा जस्तै अवस्था आयो, जसले पार्टीलाई नोक्सान पुर्यायो। तर अहिले त्यो अवस्थाबाट बाहिर निस्केका छौँ र अब देशको नेतृत्वतर्फ अघि बढ्नेछौँ।”
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते भएको सातबुँदे एकता सहमति पुस २६ गते कार्यान्वयन हुन नसकी टुटेको थियो। त्यसपछि घिसिङ उज्यालो नेपाल पार्टीकै तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवार बनेका छन्।
कार्यक्रममा अध्यक्ष घिसिङले पार्टीको नाम र चुनाव चिह्न गुम्ने गरी अन्य दलसँग पुनः एकता वा समाहित नहुने स्पष्ट पारे। उनका अनुसार उज्यालो नेपाल पार्टी अब कुनै पनि अवस्थामा अन्य पार्टीमा विलय हुने छैन।
“अब कुनै पनि सर्तमा उज्यालो नेपाल पार्टी अरू दलमा मिसिँदैन। अन्य दलहरू यसमा समाहित हुन सक्छन्, तर हामी आफ्नो पहिचान गुमाएर जाने छैनौँ,” उनले बताए।