काठमाडौं । नेपाली कांग्रेसले आफू सुधारिएको रूपमै निर्वाचनमा सहभागी भएको जनाएको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको आयोजनामा तथा नेपाल प्रेस युनियनको सहकार्यमा सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले उम्मेदवार छनोट प्रक्रियामै पार्टीभित्रका मतभेद व्यवस्थापन गरिएको दाबी गरे। उनका अनुसार उम्मेदवारी प्रक्रियाका क्रममा केही नेताहरू असन्तुष्ट भए पनि छलफल र सहमतिमार्फत विवाद समाधान गरिएको छ र सबैले आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले हाल पार्टीभित्र गम्भीर विवाद नरहेको बताए। “टिकट वितरणका क्रममा विशेष महाधिवेशनको पक्ष–विपक्ष नहेरी समस्या समाधान गरिएको छ,” उनले भने, “उम्मेदवार नबनेका धेरै नेताहरू पनि पार्टीको काममा संलग्न छन्। कतिपयमा असन्तुष्टि देखिए पनि आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिने प्रयास गरिनेछ।”
चालिसेले पार्टीको प्रचारप्रसार संयन्त्रलाई वडा तहसम्म विस्तार गर्ने गरी काम भइरहेको जानकारी दिए। पार्टी हाल निर्वाचन अभियानमा केन्द्रित रहेको र निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उनको भनाइ थियो।
यसैबीच कांग्रेसले विभिन्न दलका कार्यक्रममा राष्ट्रिय झन्डाको प्रयोगका विषयमा ध्यानाकर्षण गराएको छ। चालिसेले राजनीतिक गतिविधिमा राष्ट्रिय झन्डाको दुरुपयोग भइरहेको भन्दै त्यसलाई मर्यादित रूपमा प्रयोग गर्न सबैलाई सचेत गराइएको बताए।
उनका अनुसार दलगत प्रतिस्पर्धामा राष्ट्रिय झन्डाको प्रयोग नगरी यसको सम्मान र गरिमा जोगाउनुपर्नेमा पार्टीले जोड दिएको छ।