सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकबीच ‘भित्र’ र ‘बाहिर’ भन्ने विभाजनकारी सोच खतरनाक रहेको बताएका छन्। सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै उनले देशका सबै नागरिक समान अधिकारका हकदार रहेको स्पष्ट पारे।
थापाले फरक स्थानबाट आएको भन्दै कसैलाई प्रश्न गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत हुने धारणा राखे। उनले काठमाडौँमा व्यापार वा श्रम गर्न आउने नागरिकलाई कहाँबाट आएको भनेर सोध्न नमिल्ने उल्लेख गर्दै काठमाडौँका बासिन्दाले जति अधिकार पाउँछन्, सर्लाहीका नागरिकले पनि त्यत्तिकै अधिकार पाउनुपर्ने बताए।
उनले राजनीतिक प्रतिस्पर्धामा पनि भूगोलका आधारमा प्रश्न उठाउनु अनुचित हुने बताए। “कुन नेता कहाँ उम्मेदवार बने भन्ने आधारमा नागरिकता खोज्ने वा प्रश्न उठाउने प्रवृत्ति गलत हो,” उनले भने, “मधेस होस् वा पहाड, सबै एउटै देशका नागरिक हौँ।”
थापाले सर्लाही र काठमाडौँबीच समान व्यवहार हुनुपर्नेमा जोड दिँदै जुन कुरा सर्लाहीमा बोलिन्छ, त्यही कुरा काठमाडौँमा पनि लागू हुनुपर्ने बताए। काठमाडौँले सर्लाहीका नागरिकलाई अपनाएजस्तै सर्लाहीले पनि काठमाडौँका नागरिकलाई खुला रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।
उनले समाजमा फैलँदै गएको ‘भित्र–बाहिर’ को भाष्यलाई चिर्न सञ्चारकर्मी, राजनीतिक दल र सचेत नागरिकले भूमिका खेल्नुपर्ने बताए। “हामी सबै फरक–फरक छौँ, तर समान पनि छौँ,” उनले भने, “त्यसैले हामी एउटै देशका नागरिक हौँ।”