सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताएका छन् । मङ्गलबार सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश चलाउने तागत कांग्रेससँग मात्र रहेको बताए । “हामी उत्तेजनाबाट चल्दैनौँ, शान्तिपूर्ण किसिमले अघि बढेर देश सम्हाल्न खोज्दै छौँ,” थापाले भने, “फागुन २१ पछि जनताको माग अनुसार कांग्रेसले देशको नेतृत्व सम्हाले छ।”
अहिलेको अवस्थामा बदलिएर अघि बढिरहेको नेपाली कांग्रेस नै देशको नयाँ पार्टी रहेको सभापति थापाको दाबी छ। चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने परिपाटी रहेको उनले आरोप लगाए।
पछिल्लो समय टिकट लिनकै लागि रातारात पार्टी परित्याग गर्ने परिपाटी ठीक नभएको कांग्रेस सभापति थापाको भनाइ छ। भ्रष्टाचारको न्यूनिकरण र सुशासन कायम गर्ने कांग्रेसको मुख्य उद्देश्य रहेको कांग्रेसका नवनिर्वाचित सभापति थापाको भनाइ छ। तीन पटक लगातार जितेको काठमाडौं ४ छाडेर सर्लाही ४ मा आएको विषयमा थापाले बागमतीको एउटा किनारबाट अर्को किनारमा आइपुगेको बताए ।