काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन सरकारसँग माग गरेकी छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बेलवासेले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन् ।
उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन । घाँटीमा मालाझैँ लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् ।
नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने उनको भनाइ छ । यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई उनले आग्रह गरिन् । राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागु गर्नुपर्नेमा जोड दिइन् ।