धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउने विषयमा धादिङ जिल्लाका पाँच राजनीतिक दलबीच सहमति भएको छ।
मंगलबार बिहान धादिङबेसीमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला तहका नेताहरू तथा दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले संयुक्त प्रतिबद्धता जनाएका हुन्।
बैठकपछि जारी गरिएको संयुक्त प्रतिबद्धता पत्रमा जिल्लामा शान्ति, सामाजिक सद्भाव र अमनचयन कायम गर्दै सुशासन, समावेशी विकास र समतामूलक समाज निर्माणका लागि दलहरूबीच सहकार्य र समन्वय गर्ने उल्लेख गरिएको छ। निर्वाचनपछि जुनसुकै दल वा उम्मेदवार निर्वाचित भए पनि जिल्लाको साझा हितका लागि मिलेर काम गर्ने सहमति गरिएको छ।
प्रतिबद्धता पत्रमा चुनावी प्रचारप्रसारका गतिविधिलाई शान्तिपूर्ण, मर्यादित, सौहार्दपूर्ण र मितव्ययी बनाउने, मतदान प्रक्रिया स्वतन्त्र र निष्पक्ष बनाउन सहयोग गर्ने तथा सबै दल र उम्मेदवारप्रति सम्मानजनक व्यवहार गर्ने उल्लेख गरिएको छ।
निर्वाचनका क्रममा देखिन सक्ने विवाद वा असमझदारीलाई संवाद र आपसी समन्वयमार्फत समाधान गर्ने तथा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता पनि दलहरूले जनाएका छन्।
संयुक्त विज्ञप्तिमार्फत सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, सर्वसाधारण तथा सञ्चारकर्मीलाई निर्वाचन सफल बनाउन सहयोग, निगरानी र खबरदारी गर्न आह्वान गरिएको छ।
बैठकमा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा (एमाले) धादिङका कार्यवाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’, नेपाली कम्युनिस्ट पार्टी धादिङका संयोजक मनराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका संगठन सचिव रामहरि रिजाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका अध्यक्ष ध्रुवप्रसाद खनालसहित दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सहभागिता रहेको थियो।
संयुक्त प्रतिबद्धता पत्रमा दुवै निर्वाचन क्षेत्रका उम्मेदवार र सहभागी दलका प्रमुखहरूले हस्ताक्षर गरेका छन्।