काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ ।
धर्मराज तिमिल्सिनाले दर्ता गराएको उजुरीमा शाहको अभिव्यक्तिले घृणा फैलाएको, तथ्यहीन आरोप लगाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।
एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा सबै राजनीतिक दलका प्रमुख नेताहरूबिच पारदर्शी, बौद्धिक र नम्रतामा आधारित विभिन्न डिबेटको प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
त्यसको जवाफमा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ओलीलाई '७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने' जस्ता आरोप लगाएका थिए ।