काठमाडौं । नक्कली राइफल र पेस्तोल बोकेर हिँडिरहेका दुई जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ।प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले शनिबार राति नक्कली हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई काठमाडौंको जडीबुटी बस्ने कुमार लोहार रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले थ्री नट थ्री राइफलजस्तो देखिने डमी लामो हतियार एक थान, कटुवा पेस्तोलजस्तो देखिने डमी सानो हतियार दुई थान, खुकुरीजस्तो फलामे हतियार दुई थान र एउटा मोटरसाइकल बरामद गरेको छ।
प्रहरीका अनुसार सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको यामाहा कम्पनीको एफजेट मोटरसाइकल किरण घिमिरेको नाममा दर्ता रहेको खुलेको थियो। त्यसपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा काठमाडौं महानगरपालिका–३२ स्थित सांस्कृतिक नृत्य कला केन्द्रमा लुकाएर राखिएको अवस्थामा ती हतियारहरू फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैजनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।