काठमाडौं । नेकपा एमालेले आफ्ना ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यलाई एउटै विषयवस्तु समेटिएको चिठी पठाएको छ। एमालेले पार्टीका हालका संगठित सदस्यसहित पहिले संगठित सदस्य रहेका तर पछिल्लो समय नवीकरण नगरेका सदस्यलाई समेत चिठी पठाएको जनाएको छ। आफूलाई चिठी प्राप्त भएको भन्दै केहीले सामाजिक सञ्जालमा पोस्टसमेत गर्न थालेका छन्।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित निर्वाचनलक्षित चिठी सदस्यहरूलाई पठाएको हो। चिठीमा फागुन २१ गते हुने निर्वाचनले देशलाई विनाशतर्फ लैजाने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने विषयको फैसला गर्ने उल्लेख गरिएको छ।
अध्यक्ष ओलीले चिठीमार्फत देश निर्माणका लागि एमालेको बहुमत आवश्यक रहेको उल्लेख गर्दै पार्टीलाई समर्थन गर्न आग्रह गरेका छन्। एमालेका अनुसार यसअघि पनि अध्यक्ष ओलीको हस्ताक्षरसहित यस्तै विषयवस्तु समेटिएको चिठी केन्द्रीय सदस्यहरूलाई पठाइएको थियो।