काठमाडौं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्नुपर्ने विषयले राजनीतिक माहोल तातेको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि उनीसँग काठमाडौं–झापा–५ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।
ओलीको प्रस्ताव : बहसका लागि तयार
अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै पारदर्शी बहस आवश्यक भएको बताएका छन्।
उनले लेखेका छन्, “सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको छ। देशको नेतृत्व गर्न चाहने दलका एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमनेसामने बहस हुनु सकारात्मक हुन्छ।”
ओलीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रहसमेत गरेका छन्।
बालेनको प्रतिक्रिया : बहस अस्वीकार
ओलीको उक्त प्रस्ताव सार्वजनिक भएपछि बालेन शाहले सामाजिक सञ्जालमै प्रतिक्रिया जनाउँदै ओलीसँगको बहस बहिष्कार गर्ने बताएका छन्।
बालेनले टिप्पणी गर्दै लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारिएको ठिकै छ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने हो?”
उनले थप लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ। त्यसपछि अरू कुरा गरौँला।”