काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज देशका विभिन्न प्रदेशमध्ये लुम्बिनी प्रदेशमा मतदान शुरु भएको छ। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त तीन सदस्यको पदपूर्ति आजको मतदानबाट गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार महिला क्लस्टरतर्फ एक, अपाङ्गता तथा अल्पसंख्यकतर्फ एक र अन्य समूहबाट एक सदस्यका लागि मतदान हुन लागेको हो। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ। मतदानस्थल दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने पूर्वसहमति छ। उक्त सहमति विशेष महाधिवेशनअघि तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो। सहमतिअनुसार मतदान भएमा लुम्बिनी प्रदेशबाट तीनै उम्मेदवार निर्वाचित हुने निश्चितजस्तै देखिएको छ।
कांग्रेस–एमाले गठबन्धनबाट एमालेकी पूर्वमन्त्री तथा केन्द्रीय सदस्य रामकुमारी झाक्री, कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य चन्द्रबहादुर केसी र कांग्रेस नेता वासुदेव घिमिरे उम्मेदवार छन्। निर्वाचित भए झाक्रीले राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको स्थान लिनेछिन् भने एमालेका गोपाल भट्टराईको स्थानमा कांग्रेसका केसी पुग्नेछन्। अपाङ्गता तथा अल्पसंख्यकतर्फ दाङका कांग्रेस नेता घिमिरे निर्वाचित हुने सम्भावना छ।
नेपाली कम्युनिस्ट पार्टीले बृहस्पति अधिकारी, सर्जन विक र दुर्गा भण्डारीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय जनमोर्चाले बमबहादुर खत्री र पद्मा पण्डितलाई उम्मेदवार बनाएको छ।
यसबीच फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेकामा अहिले संख्या ८३ कायम भएको छ।
एक जना प्रदेशसभा सदस्य बराबर ५३ मतभार र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ तोकिएको छ। लुम्बिनी प्रदेशमा प्रदेशसभा र स्थानीय तह गरी कुल ८ हजार ५२२ मतभार रहेको छ। सबैभन्दा बढी मतभार नेपाली कांग्रेसको ३ हजार १७९ र एमालेको २ हजार ८१० रहेको छ।
मतभारको हिसाबले कांग्रेस–एमाले गठबन्धनको स्थिति बलियो देखिएको छ।