काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा आयोजना गर्ने भनिएको मधेस सभा स्थगित गरेको छ। कांग्रेस सभापति गगन थापासहितका शीर्ष नेताहरू माघ ११ गते मधेस जाने र १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय भएको थियो। तर निर्वाचन आचारसंहिता लागू भइसकेको र उम्मेदवारहरूले फागुन ४ गतेअघि कुनै पनि प्रकारका सभा, जुलुस तथा प्रचार–प्रसार गर्न नपाउने व्यवस्था रहेको निर्वाचन आयोगले स्पष्ट गरेपछि कार्यक्रम स्थगित गरिएको हो।
प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको थियो। मनोनयन दर्ता माघ ६ गते सम्पन्न भएको थियो।
कांग्रेसका एक नेताका अनुसार मधेस सभाको नयाँ मिति आन्तरिक छलफलपछि तय गरिनेछ। उल्लेखनीय छ, कांग्रेस सभापति गगन थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्।