काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाहीका मतदाताका लागि प्रत्यक्ष पहुँच सुनिश्चित गर्ने उद्देश्यले सर्लाही र काठमाडौं दुवै स्थानमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंमा आयोजित सर्लाहीका युवा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै थापाले आफू सांसद भएपछि जनतासँगको पहुँच सहज बनाउने गरी कार्यालय प्रणाली विकास गर्ने बताएका हुन्। उनले आफ्नो कार्यशैलीबारे स्पष्ट पार्दै जनताको समस्या सुन्न र समाधानमा पहल गर्न प्रत्यक्ष सम्पर्कको व्यवस्था गरिने बताए।
थापाले यसअघि काठमाडौं क्षेत्र नम्बर–४ बाट सांसद हुँदा व्यवस्थित व्यक्तिगत कार्यालय सञ्चालन गरेको अनुभव सुनाउँदै भने, “पहिले चाबहिलमा र अहिले कालोपुलमा मेरो कार्यालय छ। त्यो कार्यालय काठमाडौं क्षेत्र नम्बर–४ का जनताका लागि खोलिएको हो, जहाँ एक जना कर्मचारी रहन्छन् र बाँकी युवाहरू स्वयंसेवकका रूपमा काम गर्छन्।”
अब सर्लाहीबाट सांसद निर्वाचित भएमा सोही मोडेलअनुसार सर्लाही क्षेत्र नम्बर–४ मा पनि कार्यालय खोल्ने उनले बताए। उनका अनुसार, सर्लाहीका कुनै पनि मतदाताले जुनसुकै बेला कार्यालयमा आएर आफ्ना समस्या राख्न सक्नेछन्।
“सर्लाहीका नागरिकलाई मेरो पहुँचका लागि बीचमा कुनै दोस्रो व्यक्ति चाहिँदैन,” थापाले भने, “व्यक्तिगत, व्यवसायिक, स्वास्थ्य, शिक्षा वा अन्य कुनै पनि समस्या भए सिधै कार्यालयमा आएर राख्न सकिन्छ।”
उनले काठमाडौंमा पनि सर्लाही क्षेत्र नम्बर–४ का जनताका लागि छुट्टै कार्यालय रहने जानकारी दिए। त्यस कार्यालयमार्फत नागरिकले आफू क्षेत्र नम्बर–४ को मतदाता भएको पुष्टि गरी आफ्ना समस्या राख्न सक्ने व्यवस्था गरिने बताए।
थापाका अनुसार, नागरिकले सांसदलाई भेट्न वा समस्या समाधानका लागि दलाल वा बिचौलिया खोज्नुपर्ने अवस्था अन्त्य गर्न कार्यालय प्रणाली प्रभावकारी बनाइनेछ। “समस्या लिएर कार्यालयमा आएपछि त्यसको समाधानका लागि आवश्यक पहल गरिनेछ,” उनले भने।
कांग्रेस सभापति थापाले जनप्रतिनिधि र जनताबीचको दूरी घटाउने लक्ष्यसहित यस्तो संरचना विकास गर्न लागिएको उल्लेख गरे। सर्लाहीका युवालाई लक्षित कार्यक्रममा उनले जनताको सेवा नै आफ्नो राजनीतिक प्राथमिकता भएको पनि बताए।