काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताका क्रममा आफूले कुनै पदको ‘बार्गेनिङ’ नगरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू रवि लामिछानेलाई सभापति र बालेन्द्र शाह (बालेन)लाई वरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता प्रक्रियामा गएको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताएका हुन् ।
पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले उल्लेख गरे । समानुपातिक उमेदवार चयनका क्रममा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको उनले जिकिर गरे ।
प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उमेदवार उठाउने प्रस्ताव आफूहरूले गरेको उनले स्पष्ट पारे । उनले प्रत्यक्षतर्फको उमेदवार उठाउने विषयमा भनाइ राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दबाब आएको हुन सक्ने आशंका व्यक्त गरे । आसन्न आमचुनावका निम्ति पार्टीले सशक्त रूपमा तयारी गरिसकेको उनको भनाइ थियो ।