काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर प्रचारप्रसारमा जुटेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले प्रधानमन्त्रीका उम्मेदवार प्रस्तुत गरेर चुनावी मैदानमा होमिएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शुक्रबार सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर उम्मेदवार घोषणा गर्दा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्रीको रूपमा प्रस्तुत भएर चुनावी मैदानमा छन् । नेता देवप्रसाद गुरुङले नेकपाले जितेमा संयोजक प्रचण्ड स्वाभाविक रूपमा प्रधानमन्त्री बन्ने बताईसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरधाममा बृहत् सभा गरेरै प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको छ । रास्वपाका वरिष्ठ नेता काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएको हो । सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, सुशासनसहितका मुद्दा सम्बोधन गर्न वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीमा प्रस्तुत गरिएको जानकारी दिईसकेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई र श्रम संस्कृति पार्टीले अध्यक्ष एवं धरान उपमहानगरपालिका पूर्वप्रमुख हर्कराज राई साम्पाङलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।