काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट जनस्वास्थ्य अभियन्ता आनन्द चन्दलाई उम्मेदवार बनाएको छ। शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रमा दशकौँदेखि सक्रिय चन्द रास्वपाका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
कैलाली–५ मा चन्दसँग नेपाली कांग्रेसका नरनारायण शाह र नेकपा (एमाले) का प्रेम आलेबीच प्रतिस्पर्धा हुने भएको छ।
पुर्ख्यौली थलो बैतडी भएका चन्दको परिवार पछि कैलाली बसाइँ सरेको हो। हाल उनी धनगढी उपमहानगरपालिका–८ का बासिन्दा हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा अध्यापन गरेका छन्।
जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका चन्दले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा विद्यावारिधि (पीएचडी) पूरा गरेका हुन्। अध्ययन तथा अनुसन्धानमा सक्रिय रहेका उनका अनुसन्धान लेखहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।
चन्द नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ताका रूपमा परिचित छन्। सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूम्रपान निषेधसम्बन्धी कानुन तथा सुर्तीजन्य पदार्थको विज्ञापन नियन्त्रणसम्बन्धी नीतिनिर्माणमा उनले सरकारलाई दबाब दिनुका साथै सहकार्य गर्दै आएका छन्।
रास्वपाले चन्दलाई उम्मेदवार बनाएसँगै उनले शनिबारदेखि चुनावी प्रचार–प्रसार सुरु गरेका छन्।