काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् ।
चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए । बिहीबार (माघ ८) निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उमेदवारी खारेज हुने निर्णय गरेको थियो । उक्त निर्णय रोकेर उमेदवारी कायम गर्न माग गर्दै चौधरीले शुक्रबार (माघ ९) सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले चौधरीको मनोनयनपत्र कायम रहन सक्ने अवस्था नरहेको भन्ने आधारमा खारेज गर्ने निर्णय दिएको थियो ।
चौधरीको रिटमा आइतबार (माघ ११) सर्वोच्चमा सुनुवाको पेसी तय भएको छ ।