धादिङ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र–१ की उम्मेदवार आशिका तामाङले आफ्नो नामबाट निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ता गरिएको भन्दै पठाइएको इमेल आफूले नपठाएको स्पष्ट पारेकी छन्। शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको अवधिमा तामाङको नाम उल्लेख गरी इमेल प्राप्त भएको थियो।
दिउँसो करिब ३ बजे तामाङ स्वयं धादिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सनाखत गराउँदै उम्मेदवारी कायमै राख्न आग्रह गरेकी हुन्। निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार तामाङ सशरीर उपस्थित भई आफूले कुनै इमेल नपठाएको बताएपछि उनको उम्मेदवारी यथावत् कायम रहनेछ।
यसअघि प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) अनुसार उम्मेदवारी फिर्ता गर्न माग गर्दै इमेल आएको भए पनि उक्त इमेल कसले पठाएको हो भन्ने विषयमा तामाङले खुलाइनन्। पछि उनले सञ्चारमाध्यमसँग कुराकानी गर्दै उक्त इमेल फेक भएको र आफ्नो उम्मेदवारी रद्द गराउन पुराना दलहरूले चलखेल गरेको दाबी गरेकी छन्।
सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा उनको नामसँग जोडेर जर्मनीको स्थायी आवास अनुमति पत्र सार्वजनिक भएपछि उम्मेदवारी फिर्ताको चर्चा चलेको थियो। सोही विवादपछि आफूविरुद्ध गलत सूचना फैलाइएको तामाङको भनाइ छ।