तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार उम्मेदवारी दर्ता गराएका थिए।
उम्मेदवारी फिर्ता लिएसँगै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेका छन्। दुलेगौंडास्थित रास्वपा पार्टी कार्यालय पुगेर उनले अब न्यौपानेलाई सघाउने बताएका हुन्।
गुरुङका अनुसार आफू मैदानमा रहेकै अवस्थामा पुरानै शक्ति पुनः जित्ने सम्भावना देखिएकाले परिवर्तनको पक्षमा उभिन उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। उनले परिवर्तनका लागि चालेको कदमका रूपमा यो निर्णय उचित भएको प्रतिक्रिया दिएका छन्।
उनले उम्मेदवारी फिर्ता लिने र रास्वपालाई समर्थन गर्ने निर्णय पूर्ण रूपमा व्यक्तिगत भएको समेत स्पष्ट पारेका छन्।