काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनपछि पार्टी कार्यालय सानेपामा पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी दिएका छन्। शुक्रबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आजको बैठक निर्वाचनसँग प्रत्यक्ष जोडिएको र ऐतिहासिक महत्वको हुने दाबी गरेका हुन्।
महामन्त्री पौडेलका अनुसार बैठकले निर्वाचनलाई लक्षित गर्दै केही महत्वपूर्ण र ठोस निर्णय गर्नेछ, जसले देशभर राजनीतिक तरंग सिर्जना गर्ने र निर्वाचनमा कांग्रेसप्रति मत आकर्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनले कांग्रेसको इतिहासमै पहिलो पटक विधिवत रूपमा निर्वाचन केन्द्रित निर्णय हुन लागेको पनि बताए।
विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व र नीति दुवैमा परिवर्तन भइसकेको उल्लेख गर्दै पौडेलले अब देशको नेतृत्व परिवर्तन गर्ने दिशामा कांग्रेस अघि बढ्ने स्पष्ट पारे।
उनका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्ने कार्यक्रमसमेत आजको केन्द्रीय कार्यसमितिको बैठकको कार्यसूचीमा समावेश गरिएको छ। कांग्रेसलाई नयाँ बनाइसकेको भन्दै अब कांग्रेसको नेतृत्वमार्फत देशलाई पनि नयाँ दिशामा अघि बढाउने संकल्प अनुसार यो निर्णय हुन लागेको उनले बताएका छन्।