काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा देशले उपयुक्त ठानेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार उम्मेदवारी फिर्ता लिने घोषणा गरेपछि उनले जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका हुन्।
उम्मेदवारी फिर्ता लिँदै भट्टराईले देशको आवश्यकताअनुसार सही व्यक्तिलाई सघाउने धारणा राख्दै प्रस्तावक र समर्थकप्रति आभार व्यक्त गरेका छन्। विभिन्न दल र व्यक्तिहरूको सुझाव तथा आग्रहपछि आफूले यो निर्णय लिएको उनको भनाइ छ।
उनका अनुसार हाल देश राजनीतिक रूपमा तरल अवस्थामा रहेकाले आफूजस्ता व्यक्तिले चुनावी प्रतिस्पर्धाभन्दा बाहिर बसेर सल्लाह, सुझाव र सहजीकरण गर्नु उपयुक्त हुने सुझाव आएको थियो। सबै पक्षको आग्रहलाई ध्यानमा राख्दै अभिभावकीय भूमिकामा रहनु उपयुक्त ठानेर उम्मेदवारी फिर्ता लिएको उनले स्पष्ट पारे।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने, आर्थिक विकास र समृद्धिलाई तीव्रता दिने चुनौतीहरू रहेको उल्लेख गर्दै भट्टराईले ती लक्ष्यमा दलहरूलाई बाहिरैबाट सहयोग गर्ने निर्णय गरेको बताएका छन्।
उनलाई उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आग्रह गरेको थियो। रास्वपाले यस क्षेत्रबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि यही क्षेत्रबाट चुनाव लडेर पुष्पकमल दाहालसँग पराजित भएका थिए।
यसपटक दाहालले भने निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। स्रोतका अनुसार दाहालले पनि भट्टराईलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।