काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गोरखा–२ बाट उम्मेदवार बनेका भट्टराईले आफू निकटका नेताहरूसँग आज भएको छलफलपछि यो निर्णयमा पुगेका हुन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट निर्वाचन मैदानमा उत्रिएका थिए।
उनको सचिवालयका अनुसार पुष्पकमल दाहाल, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलगायत नेताहरूले अभिभावकको भूमिकामा रहेर सहजीकरण गर्न आग्रह गरेपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जनाइएको छ।
भट्टराई यसअघि पनि गोरखा–२ बाट निर्वाचित भइसकेका नेता हुन्। २०७९ को निर्वाचनमा उनले दाहाललाई सहयोग गर्ने भन्दै आफू उम्मेदवार नबन्ने बताउँदै आएका थिए। यसपटक पनि चुनाव नलड्ने संकेत गरे पनि मनोनयन दर्ताको केही दिनअघि मात्रै निर्णय परिवर्तन गर्दै गोरखा पुगेका थिए।
उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा भने उनले अहिलेसम्म कुनै खुलासा गरेका छैनन्। गोरखा–२ मा हाल नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा एमालेबाट मिलन गुरुङ (मिलन चक्रे), रास्वपाबाट कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।