मनाङमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरूले नाम फिर्ता लिने निवेदन दिएका छन्। मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार दुवै दलका उम्मेदवारबाट उम्मेदवारी फिर्ताको निवेदन प्राप्त भएको हो।
पौडेलले औपचारिक निर्णय दिउँसो १ बजेपछि सार्वजनिक गरिने जानकारी दिएका छन्। एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङ उम्मेदवार बनेका थिए। उनीहरू दुवैले उम्मेदवारी फिर्ता लिएसँगै मनाङमा दर्ता भएका उम्मेदवारको संख्या घटेको छ। यसअघि मनाङमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका एक व्यक्ति तोकिएको समयसीमा नाघेर निर्वाचन अधिकृतको कार्यालय पुगेकाले उम्मेदवार बन्न पाएनन्। नेपाली कांग्रेसबाट भने यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुनः उम्मेदवार बनेका छन्।