काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शन गर्न पुगेपछि नयाँ विवाद सुरु भएको छ। केही दिनअघि मात्रै पिताको निधन भएको अवस्थामा मन्दिर प्रवेश गर्नु हिन्दू धर्मको परम्पराविपरीत भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “अशौच” अवधिमा मन्दिर प्रवेश गर्नु अपवित्र कर्म भएको टिप्पणी गरेका छन्। कतिपयले बालेनले पिताको मृत्युमा किरिया पूरा नगरी मन्दिर गएको आरोपसमेत लगाएका छन्। तर, बालेनले १३ दिनको काजकिरिया विधिपूर्वक सम्पन्न गरेको जानकारी पहिले नै सार्वजनिक भइसकेको छ।
यसैबीच, मेयर शाहको मन्दिर यात्रा आसन्न झापा–५ निर्वाचनसँग पनि जोडिएको छ। उनी एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्दै छन्। आलोचकहरूले यो धार्मिक यात्रा जनतामा लोकप्रियता बटुल्न गरिएको रणनीति भएको टिप्पणी गरेका छन्। अर्कातिर, समर्थकहरूले भने बालेनको यात्रालाई “श्रद्धा र आत्मबलको प्रतीक” भन्दै बचाउ गरेका छन्।
सामाजिक सञ्जालमा यस विषयमा तीव्र बहस भइरहेको छ। केहीले बालेनलाई ‘धार्मिक आस्थामा खेलबाड गरेको’ भनेका छन् भने धेरैले ‘शोकपछि आत्मबलका लागि देवी दर्शन गर्नु स्वाभाविक’ ठानेका छन्।
हालसम्म बालेन शाह वा रास्वपाले औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर, राजनीतिक विश्लेषकहरूका अनुसार यो विवादले बालेनको छवि र आगामी चुनाव दुबैमा असर गर्न सक्छ।